किराँत हिन्दु वर्णाश्रमभित्र पर्दैन
"कैरातिका कुमारिका सका खनति भेषजम् ।
हिरण्ययीभिरभृभिर्गिरीणामुप सानुषु ।।" - अथर्ववेद, काण्डम् १०, सूक्त ४, मंत्र १४
हिरण्ययीभिरभृभिर्गिरीणामुप सानुषु ।।" - अथर्ववेद, काण्डम् १०, सूक्त ४, मंत्र १४
किराँत जातिका यी कुमारी कन्याहरू हिरण्यी नामको सुनजस्तो चमकदार् तथा तेजिलो धार भएको कोदालोले पर्वतीय शिखरमा रहेका औषधीहरू खन्ने गर्दछन् । (अनु. तिलकप्रसाद लुइटेल)
“...गुहाभ्यः किरातम् सानुभ्यो जम्भकम् पर्वतेभ्यः किम्पूरुषम्” – यजुर्वेद, अध्याय ३०/१६
गुफाका लागि किराँतलाई, पर्वतका चुचुराका लागि प्रचण्ड पुरुषलाई र पर्वतका लागि होचापुड्का खालका मानिसलाई नियुक्त गर्नुपर्दछ । (अनु. तिलकप्रसाद लुइटेल)
“अहं पुरा किराँतेषु किराँतैस्यः वर्धितः ।
जन्ममात्रं द्विजत्वं मे शुद्राचारतः सदा ।।” – वाल्मिकी रामायण, आदिपर्व १/५५/३–४
म पहिले किराँतहरुमा किराँतहरुसँग पाली, पोसी, खेली, कुदी बढेको हुँ । वस्तुतः मेरो जन्ममा मात्रै द्विजकुलमा भएको हो । अनि शूद्राचारमा सधैँ रत भएको हुनाले आज मेरो यो गति भएको छ । (अनु. डा. स्वामी प्रपन्नाचार्य)
अथर्ववेदको सूक्त ४ सर्प (तक्षक) को विष नाश गर्ने विद्यासँग सम्बन्धीत छ । यो सूक्त सर्पको डरबाट बच्नको लागि रचना गरिएका विभिन्न मंत्रहरुद्वारा भरिएको छ । त्यसैले किराँति कन्या सम्बन्धी माथिको मंत्रले त्यो समयमा पनि किराँतिहरु सर्पदंश उपचारको लागि आवश्यक जडिबुटीसँग परिचित रहेको बोध गराउँछ । त्यति मात्र होइन कि यो मंत्रबाट किराँतिहरु पर्वतीय क्षेत्रमा बसोबास गर्ने गरेको तथ्य पनि बुझ्न सकिन्छ ।
त्यस्तै महाभारत कथाको वन पर्वमा पनि पाण्डवहरु किराँतिहरुझैँ जंगलमा बसोबास गरिरहेको भनेर कुरु दरवारमा पाण्डवहरुको धज्जी उडाउने गरिएको प्रसंग पनि उल्लेख गरिएको छ । यसरी वेद लगायत प्राचिन धार्मिक ग्रन्थहरुमा किराँत जातिलाई जंगल र गुफामा बस्ने अशभ्य जनदेखि लिएर धनुधारी र औषधीविज्ञानमा पोख्त शभ्य समूहसम्म जोडिएको छ । यसबाट के अनुमान सहजै गर्न सकिन्छ भने तत्कालिन किराँति जाति निकै बृहद् थियो । क्रमशः सूर्यबंशी तथा भाष्करबंशीहरुको लगातारको आक्रमणबाट नेपाल इतिहासका प्रमाणित किराँत राजाहरु वल्लो, माझ एवं पल्लो किराँतका रुपमा हालको नेपालको पूर्वी भागमा सीमित हुन पुगेकाले मात्र आज राई, लिम्बू, याख्खा, सुनुवारले मात्र आफुलाई किराँति दावी गर्न सकेका हुन् । वास्तवमा मगर, थारु लगायतका जाति पनि वैदिक वा महाभारतकालमा वर्णन गरिएको किराँति जाति नै हुनुपर्दछ ।
अर्कोतिर, वेद र महाभारतहरुमा यत्रतत्र “किराँत” शब्द उल्लेख हुनुले किराँत जाति वेद लेखिइनुभन्दा अघिदेखि नै सग्लो जातिका रुपमा पर्वतीय इलाकामा बसोबास गर्ने गरेको छनक् मिल्छ । यो तथ्यले किराँत जाति हिन्दू वर्णश्रमभित्र नपर्ने सत्य त स्वतसिद्ध हुन्छ नै, बरु तत्कालिक किराँत जाति ब्राह्मण, क्षत्रिय, वैश्य तथा शुद्र चारै वर्णीय पेशा अगाल्ने जन मिश्रीत जाति थियो भनी अनुमान गर्न सकिन्छ । यी तथ्यहरुले केही विद्वानहरुको किराँतलाई क्षत्रिय वर्ण अन्तरगत राखी र केही इतिहासकारहरुको वैश्यवर्ण अन्तरगत राखी हिन्दू वर्णश्रमभित्र छिराउने प्रयत्नबारे पुनर्अध्ययन हुन जरुरी देखिन्छ । यसै सन्दर्भमा कतिपयले महाभारत कथामा यत्रतत्र उल्लेख गरिएका दानव र राक्षसहरुसँग किराँतलाई जोड्ने गरेको पनि पाइन्छ । महाभारतमा दानव भनेर कुनै गैरहिन्दू जातिलाई सम्बोधन गरिएको हुनसक्ने प्रष्ट सम्भावना त छ तर महाभारतमा किराँत जातिलाई “किराँत” भनेरै सम्बोधन गरिएकाले “दानव” भनिएको जाति किराँत नभएर अन्य कुनै जाति हुनु पर्दछ । त्यस्तै महाभारतको गम्भीर अध्ययनले “राक्षस” संज्ञा कुनै जाति विशेषलाई भन्दा पनि भेष बदल्न सक्ने, उड्न सक्ने क्षमता भएका प्राणीहरुको समूहलाई दिइएको प्रतित हुन्छ । अतः किराँत जाति वैदिककालभन्दा अगाडिदेखि नै हालको नेपाल र भारतको पहाडी क्षेत्रमा बसोबास गरिरहेका हिन्दू वर्णाश्रमभित्र नपर्ने जाति नै रहेको आँकलन गर्न सकिन्छ ।